Home / अभिलेखालय / वर्तमानसम्म नेपाली महिला र शिक्षा

वर्तमानसम्म नेपाली महिला र शिक्षा

कृष्ण राना
परापूर्व कालमा अनौपचारिक शिक्षाको जगजगी थियो । विश्वका धेरै मुलुकहरुमा औपचारिक शिक्षाको आरम्भ हुँदा समेत हाम्रो समाज गुरुकुल,मौखिक वाचन र श्रवण शिक्षाको घेरामा रहेको थियो । श्रवण शिक्षाभित्र जातीय, लिङ्गिय र वर्गीय विभेद थियो । महिला, दलित र गरिबले श्रवण शिक्षामा सामेल हुने अवसर थिएन । साँस्कृतिक परम्पराको रुपमा विकास भएको विभेद तत्कालिन शासन प्रणालीको समेत दोष थियो । अझै निश्चित सम्प्रदायका नेपाली नारीहरु केवल पुरुषको सेवाको लागि मात्र जन्मिएका भन्ने मान्यता स्थापित थियो । आफुभन्दा धेरै वर्ष जेठो पुरुषसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि स्वभाविक थियो कि उमेरका हिसाबले उनको पतिको निधन अघि मृत्यु हुन्थ्यो । आफ्नो पतिको निधनको बेला जस्तो परिस्थिति भएपनि जिउँदै जितामा बस्नु पर्ने जुन सतिप्रथा थियो, त्यो वास्तवमा मानवयता विरोधी थियो । त्यसले नेपाली नारीहरुमा मानवीय जीवनको आभाष नै थिएन । विश्वका धेरै मुलुकमा औद्योगिक क्रान्तिको चरण समाप्त हुँदा नेपाली समाज दासताको जन्जीरभित्र गुजुल्टिएको थियो । विश्वका अन्य देशको प्रभाव पर्दै जाने क्रममा नेपालका शासकहरुलाई सतिप्रथा अन्त्य गर्ने दवाव प¥यो र बि सं १९७६ मा तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेरले सति प्रथा अन्त्यको घोषणा गरे । राणा जनरलहरुको विदेश भ्रमण पछाडि औपचारिक शिक्षको ढोका खोल्ने विषयमा शासक बीच विवाद देखिए पनि विश्वव्यापी दबावका कारण नेपालमा औपचारिक शिक्षाको प्रारम्भ भयो । क्रमशः देशभित्र औपचारिक शिक्षाको लहर चल्दै गयो र केही उच्च घरानाका महिलाहरुले नेपाल वा छिमेकी मुलुक भारतमा रहेर आफूलाई शिक्षित बनाउने कोशिष गरे । विकासमा धेरै अगाडि रहेको इटली जस्तो मुलुकमा १८७० मा जन्मिएको मारिया मन्टेश्वरीले त्यहाँको कानुनको कारण डाक्टर पढ्न नपाउने भएकी थिइन् । त्यहाँ समेत महिलालाई औषधि विज्ञानको डाक्टर पढ्न छुट दिएको थिएन । उनले एम्. मण्टेश्वरी मात्रै लेखेर फारम भरी अध्ययन गरिन् । उनी महिला भएको तथ्य उनको अध्ययन सकिएपछि खुल्यो । तिनै मारियाका कारण आज संसारभरी बाल सिकाइका बारेमा पढाइन्छ । नेपाल, जहाँ पुरुष र महिलाका लागि लुगामा भिननता, कपाल कटाइ, कामको ज्याला आदिमा समेत विभेद थियो, अद्यापी छ, नाममा भिन्नता छ, तसर्थ झुक्याएर फारम भर्न र सिक्न असम्भव थियो ।
औपचारिक शिक्षाको प्रारम्भ सँगै मुलुकमा जहानिया शासनकालको समाप्ति भयो , त्यसले जनतामा लोकतान्त्रिक अधिकारको चेतना वृद्धि भयो । स्कुल गई पढ्नु पर्ने भन्ने चेतना जागृत भयो । तर स्कुल के कसरी खोल्ने र संचालन गर्ने भन्ने विषयमा न त राज्यसँग पर्याप्त जनशक्ति थियो, न त श्रोत साधन नै । मुलुकसँग त्यससम्बन्धि ठोस योजना पनि थिएन । यसै सन्दर्भमा समाजका अगुवा जान्ने बुझ्ने शिक्षा क्षेत्रमा केही गरौं भन्ने व्यक्तिहरुको पहल र सरकारी संयन्त्रको समर्थनमा गाउँवस्तीहरुमा विद्यालयहरु खोलिए । स्थानिय जनताको सहभागितामा निश्चित मापदण्डभित्र संचालन गर्ने गरी नेपालभरी धेरै विद्यालयहरु खोलिए । औपचारिक शिक्षाको लहर जताततै विस्तार भयो । प्रारम्भमा जति सुकै शिक्षालयहरु खुलेका भएपनि महिलाहरुलाई शिक्षाको ढोका खुल्ला हुन धेरै समय लाग्यो । सम्प्रदाय विशेषको साँस्कृतिक मान्यता महिला शिक्षाको अवरोधको रुपमा रहयो । संविधान र कानुनमा उल्लेख नभएको र परम्परागत धार्मिक—सांस्कृतिक मान्यताले नेपाली महिलाहरु शिक्षा ग्रहण गर्ने अवशरबाट धेरै पछाडि परे, कुण्ठा पालेर, इच्छा मारेर पुस्तौ पुस्ता नेपाली नारीहरुले जीवन व्यतित गर्न वाध्य भए । पुरुष र महिला एकै रथका दुई पाङ्ग्रा हुन्, दुई मध्ये एकको अभावमा समाज चल्न सक्दैन भन्ने मान्यता विकास हुदै जाने क्रम र संयुक्त राष्ट्रसंघले महिला अधिकारका बारेमा आफ्नो घोषणापत्र सार्वजनिक गरेपश्चात औपचारिक रुपमा हाम्रो देशमा पनि शहरिया महिलाले अध्ययन गर्ने गराउने अवसर पाएको भएपनि ग्रामिण क्षेत्रमा झाँगिएको परम्परागत रुढीवादी संस्कारले शिक्षा प्राप्त गर्ने अधिकारबाट धेरै पछि सम्म बञ्चित हुनुप¥यो ।
झण्डै १२५ वर्ष पहिले अमेरिकाको सिकागो शहरको कपडा कारखानाका महिलाहरुले समान ज्यालाको लागि सशक्त आन्दोलन गरे । त्यसको आधारमा क्लारा जेडिकनको अगुवाईमा महिलालाई पुरुष सरह ज्याला लगायतको समान अधिकार दिलाउनको लागि निर्णायक आन्दोलन भयो र अधिकार सुनिश्चित गरियो । उनको देनले अन्तरराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चकम दिन हरेक साल संसारभरी मनाउने संयुक्त राष्ट्रसंघले घोषणा गरेको छ । नेपालमा पनि वर्षौं पहिलेदेखि अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ तर काममा समान ज्याला अझैसम्म व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको अवस्था छैन । सरकारले हरेक घरमा आमा शिक्षित भए मात्र बालबच्चा शिक्षित हुन सक्छ, तसर्थ शिक्षा र सभ्यताको पहिलो शिक्षक÷शिक्षिका घरकी आमा हुन् भनिएको भएपनि आफ्नो शिपलाई घरको चौघेराभित्र सिमित राख्नुपर्ने रुढीवादी परम्परा नेपाली नारी जातीको विकासको अवरोधक बन्यो । त्यसलाई समयले चिर्दै जाँदैछ । गलत परम्पराको अन्त्य र सम्पूर्ण नेपाली नारीका व्यावहारिक उन्मुक्तिको लागि अझै समय लाग्ने नै छ । जेहोस् नेपाली जनताको जागरुकता, अन्तरराष्ट्रिय सम्बन्धको विकास, शिक्षकको आन्दोलन, अािदका कारण शिक्षामा सरकारी लगानी बढ्दै गयो र समुदायले लिदै आएको आर्थिक भारबाट छुटकारा भयो । प्रारम्भमा स्वयमसेवीको रुपमा रहेका शिक्षण अहिले पेशाको रुपमा स्थापित भएको छ । राज्यको लगानी बढ्दै जानेक्रममा हाल माध्यमिक तहसम्मको शिक्षामा सरकारको पुर्ण लगानी भएपनि नीजि क्षेत्रलाई समन्वय गर्न अझै समय लाग्नेछ । हुँदा खानेका सन्ततीलाई निःशुल्क शिक्षाको व्यवस्थापन झनै चुनौतिपूर्ण छ ।
अहिले हामी आधुनिक युगको अत्याधुनिक सुविधा उपयोग गर्ने चरणमा छौं, एकातिर रुढीवादी परम्पराबाट पनि मुक्त भैसकेका छैनौ र अर्काेतिर संविधानसभाद्वारा निर्मित संविधानलाई कार्यान्वयन गर्ने क्रममा छौं । हरेक क्षेत्रमा नारीलाई समावेशी गराउनु पर्ने संवैधानिक व्यवस्थामा हामी छौं । कार्यान्वयनको पाटो अहिले पनि चुनौती पूर्ण छ । समाज विकासको क्रममा पुरानो समाप्त हुने र नयाँको विकास हुने विज्ञानको नियम हो । चाल्र्स डार्विनले पहिल्यै त्यस सम्बन्धि सिद्धान्त आविष्कार गरे । उनले अझै थपे कि नयाँ विकास हुँदा केही पुराना गुणका अवशेषहरु अवश्य रहन्छ । हो हाम्रो नेपालको परिवेशमा त्यही छ । संविधान कानुन आदिमा लिङ्गिय, जातीय विभेद छैन तर व्यावहारिक रुपमा जवरजस्त विभेद छ । तर शिक्षा ग्रहण गर्ने सवालमा भने मानवीय चेतनाको तीव्ररुपमा विकास भएको पाइन्छ । पहिलेका दिनमा पुरुषहरुले भरिने शिक्षण संस्था अहिले महिलाको राम्रो उपस्थिति छ । शुरुका दिनमा घरबाट छोरीलाई विद्यालय पठाउँदा सबैले कुरा काट्थे, अहिले छोरीलाई घर राख्दा सबैले कुरा काट्छन् । यो विकास र सभ्य समाजको लागि आवश्यक पक्ष हो । यस खालको सचेतनाले अवश्य पनि समाज विकास हुन्छ । तर हाम्रो देशमा दक्षजनशक्ति बाहिरबाट महङ्गो ज्याला दिएर आयातित गर्नुपर्ने र कच्चा जनशक्ति सस्तो ज्यालामा बाहिर पठाउन पर्ने विवसता बिडम्बना पूर्ण हो, यसले मुलुकलाई घाटातर्फ लैजान्छ । यसका साथै सामाजिक कुरितिबाट जबरजस्त अघि बढ्नु पर्छ । उत्पादनमा सबैलाई सहभागि गराउनु पर्छ र मुलुकको विकासको लागि उत्पादन बढाउनु पर्छ ।औपचारिक शिक्षा शुरुवातको अवस्थामा बरु हामीले उत्पादनमा जोड दिएका थियांै र हामी खाद्यान्न लगायतमा आत्मनिर्भर थियौं । अहिले उत्पादन होइन उपभोगमा ध्यान दिएका छौं र तयारी खाना खाने बानी बसालेका छौं । उत्पादनमा परनिर्भर भएका छौं, त्यसले हामीलाई गलत ठाउँमा अवतरण गर्नेछ । हामी पहिले निःशुल्क सीमा—साँधको चौकिदारी गथ्यौं, अहिले ज्याला पाए हेर्ने नपाए वेवास्ता गर्ने भएका छौ , यो राम्रो होइन । जेहोस अहिले हामी धेरै अगाडी बढेका छौं । यो सबै शिक्षाले सम्भव भएको हो । धेरै अप्ठ्यारा बाटो छिचोल्दै जाने क्रममा समाजलाई यहाँसम्म ल्याउन यस शिक्षाको धेरै महत्वपूर्ण योगदान रहेको छ ।
अस्तु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

राष्ट्रवादी बिष्टको प्रथम स्मृति दिवश सम्पन्न ।

स्वर्गीय पुर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको प्रथम वार्षिक पुण्य तिथिको अवसरमा नेपाल कला परिषदले श्रद्धाञ्जली कार्यक्रम ...

Leave a Reply

Your email address will not be published.