Home / स्वास्थ्य / भरतपुरमा मेडिकल कलेजको दादागिरी ।

भरतपुरमा मेडिकल कलेजको दादागिरी ।

 

मोहन पोखरेल
भरतपुर । कलेज अफ मेडिकल साइन्सेस (शिक्षण अस्पताल) भरतपुर र भरतपुर अस्पताल (सरकारी अस्पताल)का बीच भएको जग्गा लिज सम्बन्धी सम्झौता कार्यान्वयनमा नआएपछि महालेखा परीक्षकको कार्यालयले दुबै पक्षलाई गम्भीर हुन सुझाव दिएको छ । ०७३ साल वैशाख २३ गते भएको मेडिकल कलेजसँगको सम्झौता सम्बन्धमा रायसहितको प्रतिवेदन पेश गर्नका लागि समिति गठन गरिएको थियो ।
भरतपुर अस्पतालको जग्गा ५० वर्षका लागि लिजमा दिने गरी सन् १९९३ अगस्त ८ मा मेडिकल कलेजसँग सम्झौता भएको थियो । सरकारी अस्पतालको ९ विघा जग्गा पुरानो मेडिकल कलेजले बार्षिक ९ लाख भाडा तिर्ने गरी लिएकोमा लिज रकम अनुसारको ७३ करोड ८० लाखमा बार्षिक ६४ लाख ८० हजारका दरले असुल भएको नदेखिएको भरतपुर अस्पतालका मेसु डा. कृष्णलाल पौडेलको भनाई रहेको छ । भरतपुर अस्पताल र नेपाल सरकारले यसको प्रत्यक्ष घाटा बेहोरिरहेको अस्पताल सूत्रले जनाएको छ ।
मालपोत कार्यालय चितवनका अनुसार लिजमा दिइएको ९ विघा जग्गाको मूल्य प्रति कठ्ठा ४१ लख तोकएको थियो । जसमा पुरै ९ बिघा जग्गाको प्रचलित मूल्य ७१ करोड ८० लाख पर्ने देखिन्छ । तर सम्झौता बमोजिम काम नगर्दा भरतपुर अस्पताललाई मेडिकल कलेजले ठगिरहेको स्थिति छ । मेडिकल कलेजले भरतपुर अस्पताललाई तिर्ने लिज रकम ७३ लाख ८० हजार हुन आउँछ । जुन रकम ०७४–०७५ को कुल रकम हो ।
पुरानो मेडिकल कलेज भरतपुरलाई न्यूनतम रकम भएपनि भुक्तानी गर्नकालागि महालेखाले ताकेता गरेता पनि मेडिकल कलेजले टेरेको छैन । जसको प्रत्यक्ष घाटा सरकारी अस्पताल भरतपुरले बेहोरिरहेको छ । मेडिकल कलेज व्यवस्थापन पक्षका अनुसार सम्झौता विपरितको रकम समावेश गरिएको भन्दै उक्त रकम नतिर्ने जनाएको छ ।
महालेखाका अनुसार मेडिकल कलेजले सम्झौताको उल्लघंन गरेको छ । कलेज संचालन भएको ५ वर्षभित्र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड बमोजिम अस्पतालले ५ सय शैयाको अस्पताल बनाउनु पर्ने सर्त रहेकोमा त्यो नबनाई मापदण्ड मिचेको महालेखाको प्रतिवेदनमा भनिएको छ । मेडिकल कलेजले विशेष सुविधा सहितको ट्रमा सेन्टर सञ्चालन गर्नुपर्ने शर्तलाई उल्लंघन गरेको, ट्यूसन कक्षा र ल्यावको शर्तलाई पनि नटेरेको महालेखाले भनेको छ ।
यसरी भरतपुर अस्पताल र नेपाल सरकारलाई झुक्याएर मेडिकल कलेजले शर्त माथिको शर्तलाई उल्लघंन गर्दै गएकोले भरतपुर अस्पतालले मेडिकल कलेज विरुद्ध कार्यवाहीको प्रोसेस अगाडि बढाएको छ । भरतपुर अस्पताल व्यवस्थापन समिति सूत्रले भनेको छ ।
–चितवनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

Check Also

देशभरका अस्पतालमा आकस्मिक बाहेकका बन्द ।

  १७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ...